चलचित्रले समाज बदल्ने सामर्थ्य राख्दछ: कलाकार संजय गौतम

सुरुवात तपाईको परिचयबाट गरौँ |

म संजय गौतम घर पाल्पा हाल काठमाडौँमा बिगत केहि वर्ष यता रहदै आएको छु l पेशाले नाटक प्रति रुची भएको एक शिक्षक हुँ, जसले शिक्षालाई नाटक तथा फिल्मको माध्ययमबाट पढ़ाउंदा बढी भन्दा बढी प्रभाबकारी हुन्छ भन्ने बिश्वास गर्दछु |यस अतिरिक्त कलाकारिता पनि मेरो एक अभिन्न अंग हो समय मिलाएर अभिनय पनि गर्ने गर्छु l

अहिले के गर्दै हुनुहुन्छ ?

हाल अध्ययन अध्यापनको साथ साथै मेरो निर्माणधिन अवस्थामा रहेको चलचित्र “रकम” मा आफ्नो भूमिकाको लागि चाहिने आवश्यक  तयारी गरिरहेको छु | भर्खरै वर्कशप सकेर आफ्नो चरित्र र भूमिकालाई अझै निखार्ने प्रयास गरिरहेको छु l

फिल्म क्षेत्रमा कसरी आइपुग्नु भयो ?

हेर्नुस बाल्यकाल देखिकै अभिनय मेरो विशेष रुचिको क्षेत्र भएको र त्यसमाथि साथीभाईहरुको सल्लाह तथा सहयोगले अझ बढी प्रोत्साहन मिलेकोले यो क्षेत्रमा आएको हुँ | आजको दिनसम्म मैले करिब आधा दर्जन म्युजिक भिडियोमा निर्देशक भएर काम गरे भने १ दर्जन भन्दा धेरै म्युजिक भिडियो तथा नाटकहरुमा पटकथा लेखक (Script Writer) को रुपमा काम गरिसकेको छु | यसले गर्दा पनि मेरो फाउन्डेसन थप मजबुत भएको आभाष भयो साथ् साथै नेटवर्क पनि बढ्दै गयो फलस्वरुप फिल्म क्षेत्रमा आइपुगे |

अहिले सम्म गरेका केहि अनुभव छन् भने शेयर गर्दिनुस न l

मैले काम गरेर सन्तुष्ट भएका काम हरु मध्ये कुटुम्ब व्याण्डको “सानो भनेर” भन्ने चेतना मुलक गीतको भिड़ियो, त्यस्तै कृषि विकास मन्त्रालयको जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ज्ञानबर्दक भिडियो मैले आफुले गरेका कामहरु मध्ये आफै पूर्ण रुपमा सन्तुष्ट हुन  सकेका काम हरु हुन भने ब्यवसायिक म्युजिक भिडियो सुरेन गौतमको “पिरती लरी लै “ भन्ने गीत हो |त्यस लगायत नाटक लघु चलचित्र पनि गरिएको छ l

चलचित्र के हो तपाईको बिचारमा ?

चलचित्र एक मनोरञ्जनात्मक एवं सांस्कृतिक उत्पादन हो जसले दर्शकलाई मनोरञ्जनको साथ साथै समाजका विकृति र विसंगतीहरुप्रति पनि  सजक गराउन महत्वपूर्ण भूमिका खेल्छ | चलचित्रले समाज बदल्ने सामथ्र्य राख्छ जसले पूरा समाजलाई परिवर्तन गरिदिन सक्छ जस्तै  उदाहरणको लागि  हेरौँ न, हामी देशका विभिन्न स्थानमा बोलिने भाषा बुझ्दैनौं । तर, हिन्दी भाषा नबुझ्ने कमै छौँ होला । त्यो सिनेमाको शक्तिले नै  सम्भब भएको हो ।अर्को कुरा, चलचित्र क्षेत्र एउटा रोजगारी सृजना गर्ने क्षेत्र पनि हो जसले  सयौं कलाकार, पर्दा पछाडी दिन रात नभनी खटिने  टेक्निसियनहरु, पत्रकारहरुलाई रोजगारी पनि दिइरहेको छ | नेपालको सन्धर्भमा कुरा गर्दा चलचित्र क्षेत्र भर्खरै उद्ध्योगको रुपमा विकसित भएको छ यसले रोजगारीको अवसर सृजना गर्दछ तर सरकारले आजको दिन सम्म यो क्षेत्रलाई विकास गर्नु पर्छ भनेर सरकारी नीति नियम भित्र पूर्ण रुपले समेट्न सकेको छैन जुन एक प्रकारको  बिडम्बनानै हो |

फिल्मले धेरैलाई बिगारेको छ भन्छन नि यसमा तपाइको भनाइ के छ ?

फिल्म एउटा जनचेतना अभिवृद्धि गर्ने माध्ययम भएकोले यसले बिगार्छ भन्नेमा मेरो असहमति छ | कसले कुन कुरा कसरी ग्रहण गर्छ भन्नेमा भर पर्छ |फिल्म भित्रको अनुशासनलाइ आत्मसात गर्नु भयो भने यसले कसलाई बिगार्दैन बरु फिल्मले धेरैलाई हैन धेरैले गुणस्तरीय फिल्म उत्पादन गर्न नसकेर फिल्म क्षेत्रलाई बिगारेका छन l नेपाली फिल्म प्रति आम दर्शन प्रतिको धारणा विस्तारै परिवर्तन हुदै गएको छ l

काठमाडौँमा संघर्ष गरेको ठ्याक्कै कति वर्ष भयो ?

काठमाडौँमा संघर्ष गरेको ठ्याक्कै १६ वर्ष भयो जुनक्रममा मलाई धेरै जान्ने र बुझ्ने मौका मिल्यो जसको प्रतिफल आज धेरै आत्मविश्वास बढाएको छ |संघर्ष नै जीवन हो जीवन नै संघर्ष हो भन्छन l

टिकटकमा कतिको व्यस्त हुनहुन्छ ?

टिकटक नव आगन्तुक कलाकारको लागि धेरै राम्रो प्लेटफर्म हो |म भने यसमा अहिलेसम्म लागेको छैन तर एकाउन्ट भने खोलेको छु | भविष्यमा प्रयोग गर्न सक्छु तर हाललाई टिकटकमा कुनै समय दिएको छैन |

तपाईलाई मन पर्ने कलाकार महिला पुरुष दुवैको नाम लिनु पर्दा क कसको लिन चाहनु हुन्छ ?

बच्चा बेला देखीको छापले होला, मलाई नेपालको सन्धर्भमा  पुरुषमा सदाबहार नायक भुवन के.सी. मन पर्छ भने महिलामा मिथिला शर्मा मन पर्छ | यस बाहेक अरु धेरै जना हुनुहुन्छ, सबैजनाको नाम उल्लेख गर्न अहिलेलाई सम्भब भएन |

अन्तिममा फिल्म क्षेत्रमा आउन चाहने व्यक्तिहरुलाइ तपाइ के सल्लाह दिन चाहनु हुन्छ ?

फिल्म क्षेत्रले देशमा ठुलो जनचेतना बढाउने देखी अर्थतन्त्रमा टेवा पुर्याउदै रोजगारीको नया अवसर प्रदान गर्ने हुनाले यो क्षेत्रलाई हल्का टाइम पास र मजाकको रुपमा नलिइ केहि अठोटको साथसाथै मिहेनत र अध्ययन गरेर मात्र आउनुहोला | देशमा नयाँ नयाँ अनुहार र ट्यालेन्ट कलाकारको धेरै खाँचो छ | यसले स्वच्छ प्रतिस्पर्धा बढाउने हुँदा गुणस्तरमा पनि धेरै निखार ल्याउंछ | त्यसैले नयाँ कलाकारहरुलाई के भन्न चाहन्छु भने यस क्षेत्रको बारेमा सोचेर बुझेर केहि सिकेर आउदा राम्रो हुन्छ अरुको लह लहैमा लगेर नआउनुस अन्यथा अघि भने झैँ फिल्मले बिगार्न सक्छ |

फिल्मनगरी द्वारा कलाकार संजय गौतमसंग लिइएको अन्तरवार्ता